खोटाङ । वर्षौँदेखि सडक विस्तारको प्रमुख अवरोध बनेको घर्तीभिरलाई चिर्दै सडक निर्माण सम्भव बनाउने साहसिक कार्यमा संलग्न दुई जना एक्स्काभेटर अपरेटर सम्मानित भएका छन्।
जोखिमपूर्ण भूगोलमा निर्भीक रूपमा एक्स्काभेटर सञ्चालन गर्दै सडक निर्माणलाई सफल बनाएका सिन्धुलीका प्रकाश लामा र हेटौडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको हो।
कार्यालयका अनुसार अत्यन्त चुनौतीपूर्ण चट्टानी भिरमा उच्च जोखिम मोलेर सडक विस्तारमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो।
यसै अवसरमा घर्तीभिरमा सडक निर्माणका क्रममा देखाएको साहस र समर्पणको सम्मानस्वरूप दुवै अपरेटरलाई नगद प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष तथा समाजसेवी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ घर भई हाल काठमाडौं निवासी नरेश कटुवालले १५ हजार रुपैयाँ र समाजसेवी डिल्लीराम कटुवालले ५ हजार रुपैयाँ सहयोग गरेका थिए।
उक्त २० हजार रुपैयाँ कोशी प्रदेशका पूर्व भौति
क पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले दुई जना अपरेटरलाई जनही १०/१० हजार रुपैयाँका दरले हस्तान्तरण गरेका हुन्।
स्थानीयवासीले वर्षौँदेखि विकासको बाधक बनेको घर्तीभिर फोडेर सडक सञ्चालनको बाटो खुल्नुलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।
जोखिमपूर्ण क्षेत्रमा खटिने श्रमिक, अपरेटर र प्राविधिकहरूको योगदानको सम्मान तथा प्रोत्साहनले भविष्यमा यस्ता चुनौतीपूर्ण पूर्वाधार आयोजनामा संलग्न जनशक्तिको मनोबल थप उच्च हुने अपेक्षा गरिएको छ।