इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित सेउती खोलाको आसपास चार सय बिरुवा रोपिएको छ। इटहरी आसेज वाओ का युवाहरूको आयोजनामा बुधबार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले विभिन्न प्रजातिका चार सय बिरुवा रोपिएको हो।
पृथ्वीलाई ए देखि जेड सम्म बचाऔं र हामी एक परिवार हौँ भन्ने नारासहित आसेजले वातावरण संरक्षण र दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित लामो समयदेखि वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको आयोजक संस्थाका नविन रानामगरले जानकारी दिए ।
रानामगरका अनुसार यस्ता अभियानले वातावरण संरक्षणका साथै स्वच्छ, हरित र दिगो समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्न तथा सेउती खोलाको आसपासका खाली क्षेत्रलाई हराभरा, आकर्षक र वातावरणमैत्री बनाउन वृक्षारोपण गरिएको जनाइएको छ ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष मणिराम श्रेष्ठ र तरहरा सब–डिभिजन वन कार्यालयका अधिकृत विन्देश्वर साहको लगायतको उपस्थिति रहेको अप्सन राईले बताए ।