खोटाङ । नागरिकलाई आफ्नै गाउँ–ठाउँमा पुगेर सेवा सुविधा उपलव्ध गराउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा केन्द्र सुरु गरेको छ ।
नागरिकलाई ‘गाउँ–गाउँमा सिंहदबार’ भन्ने नाराको अनुभुत गराउने लक्ष्यकासाथ हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा जनताको घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ मंगलटारको दुरदराजमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताइन् ।

साविकको मंगलटार–४ र ५ का १३० घर परिवारलाई लषित गर्दै नगरपालिकाले ‘जनताको घर स्थानीय सरकार’ भन्ने नारा सहित भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन सुरु गरेको हो ।
नगरपालिका र वडा कार्यालय मंगलटारको ४ लाख ५० हजारमा निर्माण गरिएको दुई कोठे एकीकृत सेवा केन्द्र बुधबार नगरप्रमुख इवन राई र उपप्रमुख राईले उद्घाटन गरेका छन् ।
एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोप लगायत नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने वडाध्यक्ष रमेश राउतले बताए ।

एकीकृत सेवा केन्द्र सञ्चालनका लागि मंगलटारकै साविकको ८ र ९ का सर्वसाधारणलाई लक्ष्यीत गर्दै घुर्चुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
मंगलटारमा गरिएको सेवा केन्द्रको अभ्यास प्रभावकारी देखिए हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पनि विस्तार गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
