बैतडी । गाउँपालिकाको केन्द्रको विषयलाई लिएर बैतडीको सुर्नया गाउँपालिकामा झडप हुँदा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टसहित १४ जना घाइते छन्। संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा समान्य चोट रहेको प्रहरीले जनाएको छ।
गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयहरुले केही दिन अघि तालाबन्दी गरेका थिए। केन्द्रका बिषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।
यस्तै झडपमा परेर ५ जना प्रहरी, संघर्षरत पक्षका ६ जना जना र अध्यक्ष विष्टसँग रहेका अन्य तीनजना घाइते भएको सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँ कार्यपालिकाले गत वर्ष नै निर्णय गरेको थियो। तर स्थानीयहरुले भने सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले केन्द्रका बिषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।
गाउँपालिका अध्यक्षमाथि नै कुटपिट भएपछि प्रहरी निरीक्षक साउँदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ।
सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेको छैन्।