खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा स्वदेश तथा विदेशबाट आउने सर्वसाधारणलाई अनिवार्य हप्ता दिन होमक्वारेन्टाइनमा बस्न भनिएको छ ।
दशैंतिहार मनाउनका लागि स्वदेश तथा विदेशबाट घर आउनेक्रममा संक्रमण फैलिने खतरा भएका कारण वडा कार्यालय मंगलटारले घर आएको ७ दिनसम्म होमक्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।
वडा कार्यालयले बुधबार सूचना जारी गर्दै आफु, आफ्नो परिवार तथा छरछिमेकलाई संक्रमण हुनबाट जोगाउँदै दशैं तिहार मनाउन भनेको छ ।
हप्ता दिनसम्म होमआइसोलेसनमा बस्न सके गाउँमा संक्रमण फैलिने खतरालाई कम गर्न सकिने भएकाले होमआइसोलेसनको विकल्प नभएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।
‘चाडवाड मनाउन शहरबाट गाउँ आउने नागरिकबाट संक्रमण फैलिने खतरा बढेको छ । घर आउने व्यक्तीलाई नआउ भन्न पनि मिलेन,’ वडाध्यक्ष राउतले भने, ‘यो बेलामा क्वारेन्टाइनमा राख्न पनि सकिन्न । त्यही भएर हप्ता दिनसम्म घरबाट अन्यत्र नजानु भनिएको हो । संक्रमण फैलिन नदिने योभन्दा उत्तम बिकल्प देखिएन ।’
जिल्लामा दशैंतिहार मनाउनका लागि आउने कतिपय व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढेको छ । तर, उनीहरुलाई होमक्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनमा स्थानीयको सरकारको ध्यान जान सकेको छैन ।