खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । कोरोना संक्रमणको फैलदो अवस्थालाई मध्यनजर गर्दै विहीबारदेखी अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।
९ कार्तिकमा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षकमा कोरोना संक्रमण देखिएपछि बुधबार ६६ जनाको कन्ट्रयाक ट्रेसिङ गरी स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएकाले त्यसको रिपोर्ट नआएसम्मका लागि भोली (कार्तिक १३) बाट अर्को सूचना जारी नभएसम्मलाई अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
विषम परिस्थितिमा कार्यालयबाट नियमित सेवाहरु सुचारू गर्दा कर्मचारीरसेवाग्राहीहरुलाई समेत कोरोना भाइरस संक्रमण हुने प्रबल संभावना देखियो । यदि नगरका सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखियो भने नगरपालिका पूर्णरुपमा बन्द गर्नुपर्ने हुन्छ । नगरप्रमुख रिजालले भने, ‘त्यस कारण हाललाई अत्यावश्यक काम मात्रै नगरबाट हुन्छ ।’
बुधबारदेखी दशै विदा सकिएर सरकारी कार्यालयहरु खुलेको छ । चाडबाड मनाउन शहरबाट घरगाउँ आएकाहरु सरकारी काम सम्पन्न गर्नका लागि कार्यालयहरुमा भीडभाड बढ्ने संम्भावना पनि देखिएको छ ।