• ट्रेण्डिङ:

रोजगार गुमाएर फर्किएका युवालाई बाख्रा वितरणको तयारी 

रोजगार गुमाएर फर्किएका युवालाई बाख्रा वितरणको तयारी 

रोदिक खबर

३०, कार्तिक २०७७
  • 3.7K
    SHARES
  • रोजगार गुमाएर फर्किएका युवालाई बाख्रा वितरणको तयारी 

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगार गुमाएर फर्किएका युवालाई बाख्रा वितरणको तयारी गरेको छ ।

    स्वीस विकास सहयोग नियोग (एसडिसि)को आर्थिक सहयोग एबं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)सँगको साझेदारीमा गाउँपालिकाले कोरोना भाइरसका कारण विभिन्न देशबाट घर फर्किएका युवालाई लक्षित गर्दै स्थानीय खरि जातको बाख्रा र बोयर जातको बोका वितरणको तयारी गरेको हो ।

    रोजगार गुमाएर फर्किएका युवालाई व्यवसायिक बाख्रा पालनतर्फ प्रोत्साहित गर्नका लागि तिहारपछि बाख्रा तथा बोका वितरणको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकाले प्रस्ताव आव्हान गरेपछि खरी जातको बाख्रा पालनका लागि ४३ जना र बोयर जातको बोकाका लागि ३० जना किसानको आवेदन परेको छ ।

    बैदेसिक रोजगारीबाट फर्केर बाख्रा पालनमा लागेका तथा व्यवसायिक रुपमा बाख्रा पालनमा लागेका मेहनती बाख्रा पालक किसानलाई कात्तिक १७ गतेदेखि २३ गतेभित्र निवेदन पेश गर्न गाउँपालिकाले छुट्टै सूचना प्रकाशन गरेको जनाएको छ ।

    बैदेसिक रोजगारबाट फर्किएका युवासँगै गत आर्थिक वर्ष बाख्रा वितरण गरिएकामध्ये हाल खोर बनाएर व्यवसायिक रुपमा बाख्रा पालन गरिरहेका विपन्न महिलालाई थप बाख्रा वितरण गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    खरी जातको बाख्रा खरिदको जिम्मा रमुना बहुउद्धेश्यीय कृषि तथा अर्गानिक कृषि पशुपन्छी तथा माछा फर्मका सञ्चालक रामचन्द्र राईले पाएका छन् ।

    यस्तै, बोयर जातको बोका खरिद तथा ढुवानीका लागि पौरखी बहुउद्देश्यीय अर्गानिक कृषि पशुपन्छी तथा माछा फर्मका सञ्चालक बलजित राईले ठेक्का लिएको गाउँपालिकाका कृषि शाखा संयोजक सर्गम बुढाथोकीले बताईन् । 

    यस्तै, गाउँपालिकाका ७ वडामा एक÷एक वटा पुग्नेगरी किसानलाई ७ वटा ५० प्रतिशत बोयर बोका र सिंगो गाउँपालिकाभरीका किसानले उपयोग गर्न पाउनेगरी २ वटा शतप्रतिशत बोयर जातको बोका वितरणको तयारी गरिएको छ ।

    खरी जातको बाख्रा तथा प्रजननयोग्य बोयर जातको बोका खरिदका लागि गाउँपालिकाले गत कात्तिक ३ गते आपूर्तिकर्ता, कृषि सहकारी, व्यवसायिक कृषि तथा पशुपालन फर्मलाई सिलवन्दी दरभाउ बुझाउन सूचना जारी गरेको थियो । 

    नेपाल कृषि सेवा विकास कार्यक्रमसँगको साझेदारीमा गाउँपालिकाले कुटानी पिसानीका लागि घण्टौं धाउन बाध्य किसानलाई तीन वटा मिल, सुन्तला, लिची, कागती जस्ता पकेट क्षेत्रका किसानलाई ६ सय वटा क्यारेट र धान काट्ने ७ वटा मेसिन प्रदान गर्ने तयारी गरेको छ । 

    यस्तै, अतिविपन्न, लकडाउनका बेला सुत्केरी भएका तथा बाढीपहिरो पीडितलाई खाद्यान्न वितरण गरिने गाउँपालिका अध्यक्ष राईले बताए । ४ सय घर परिवारलाई तिहारपछि चामल, दाल, तेल, नुन र सावुन वितरणको तयारी गरिएको हो ।

    २५ केजीको ४ सय बोरा मन्सुली चामल, ८ सय केजी मुसुरी दाल, १ लिटरको ४ सय पोका सनफ्लावर तेल, १ केजीको ४ सय केजी आयोडिन नुन र ४ सय वटा डिटोल सावुन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

    अतिविपन्न, लकडाउनका बेला सुत्केरी भएका तथा बाढीपहिरो पीडितलाई वितरण गरिने खाद्य सामग्री खरिदका लागि आपुर्तीकर्ता जेके इन्टरप्राइजेजका सञ्चालक सुवास खड्कासँग बुधबार सम्झौता गरिएको छ । 

    गत आर्थिक वर्ष नेपाल कृषि सेवा विकास कार्यक्रममार्फत स्वीस सरकारले उपलव्ध गराएको कुल बजेटमध्ये ९८ प्रतिशत रकम खर्च गरेकामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगामी नोभेम्बरसम्ममा खर्च गर्ने गरी पुःन ४५ लाख ७० हजार रकम प्राप्त गरेको हो ।

    ‘स्वीस सरकारबाट हामीलाई प्राप्त भएको ९८ प्रतिशत बजेट खर्च गर्न सफल भयौं । कतिपय स्थानीय तहले खर्च गर्न नसक्दा बजेट फिर्ता गएको रहेछ तर स्वीसले त्यो पैसा खर्च गर्नका लागि यतै पठाएपछि हाम्रो गाउँपालिकाले थप बजेट पाएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘बजेट प्राप्त भएपछि गाउँपालिकाकै डिजाइन अनुसार खर्च गर्न कार्यक्रम बनाएका हौँ ।’ 

    प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०७:१०:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको