खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
एमफिल र पिएचडि गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । बिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति स्वरुप जनही ५५ हजार ५५५ र पिएचडि अध्ययन गर्ने विद्यार्थीलाई जनही १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुशार गाउँ कार्यपालिकाको बैठकबाट छात्रबृत्तिको मात्रा टुंग्याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति स्वरुप सहयोग गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जनाएको छ । उच्च शिक्षा हासिल गर्न चाहने पालिकावासीको प्रोत्साहनका लागि छात्रबृत्तिका कार्यक्रम ल्याइएको हो ।
पिएचडि र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड बनाइएको अध्यक्ष राईले बताए ।
गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको चर्चासँगै एक जना विद्यार्थी सम्पर्कमा आइसकेको जनाइएको छ ।