खोटाङ । खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाखको लागतमा दिक्तेल बहुमुखी क्याम्पसको दुई तले प्रशासनिक भवन निर्माण गरिएको हो । ७७ फिट लम्बाई र ३७ फिट चौंडाई भएको भवन शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले उद्घाटन गरेका छन् ।

भौतिक संरचनाको अभाव झेलिरहेका क्याम्पसलाई नगरपालिकाले बजेट उपलव्ध गराएपछि तल्लो तलामा बैठक हल तथा माथिल्लो तलामा पाटेसन गरेर प्रशासनिक कक्ष सञ्चालन गर्नेगरी भवन निर्माण गरिएको हो ।
भवन निर्माणका लागि एक करोड ९९ लाखको टेण्डर निकालिए पनि रोजन के मोहन एण्ड बेँसीगाउँ जेभीले ७६ लाख कम रेटमा ठेक्का पारेको थियो । सम्झौता मितिबाट एक वर्षभित्र पूरा गर्नेगरी २०७६ साल जेठ ८ गते क्याम्पसको भवन शिलान्यास गरिएको थियो । कोभिड–१९ को महामारीका कारण भवन निर्माणको काम निर्धारित मितिभन्दा पर सरेको निर्माण कम्पनी रोजन के मोहन एण्ड बेँसीगाउँ जेभीका प्रतिनिधि जोसेफ रिजालले बताए ।
निर्माण व्यवसायी रिजालले नगरपालिकालाई हस्तान्तरण गरेको भवनको चाँबी सोही कार्यक्रममा नगरप्रमुख रिजालले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईलाई हस्तान्तरण गरेका छन् । नयाँ भवन निर्माणपछि क्याम्पसको प्रशासनिक कामकाज सम्पादन सहज हुने अपेक्षा गरिएको क्याम्पस प्रमुख राईले बताए ।
खोटाङकै ज्येष्ठ क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा गरेको हो । २०३७ सालमा स्थापना गरिएको क्याम्पसका लागि अझै पनि सुविधा सम्पन्न भवनको अभाव छ ।
ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने दिक्तेल क्याम्पसमा अधिकांश पुरानै भवनमा पठन–पाठन भइरहेको छ । जनप्रतिनिधिकारुपमा निर्वाचित भए लगत्तै क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धना जनाइए अनुसार क्याम्पसको भवन निर्माणका लागि सहयोग गरिएको नगरप्रमुख रिजालले बताए ।