खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुलापन्थे माबिको दुई वटा पक्की भवन निर्माण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को अनुदानबाट आठ कोटा भएको दुई तले छुट्टा–छुट्टै भवन निर्माण गरिएको हो ।
२०११ सालमा स्थापना गरिएको विद्यालयको नवनिर्मित भवन आइतबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले उद्घाटन गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईबाट आर्थिक वर्ष २०७४÷०७५ मा प्राप्त भएको ३६ लाख र स्थानीयको ३० प्रतिशत श्रमदानमा बुलापन्थे माबिको चार कोठा भएको दुई तले भवन निर्माण गरिएको हो ।
यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)बाट आर्थिक वर्ष २०७५÷०७६ मा प्राप्त भएको ७० लाख ४० हजार र स्थानीयको २० प्रतिशत श्रमदानमा चार कोठा भएको दुई तले भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको विव्यास अध्यक्ष पेशल राईले बताए ।
शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त भएको भवन भने सम्झौता म्यादभन्दा ढिलागरी निर्माण गरिएको हो । भवन निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्तीका कारण ३ लाख ४६ हजार फ्रिज हुँदा सो रकम विद्यालयले बेहोर्नु परेको विव्यास अध्यक्ष राईले बताए ।
विद्यालयका अभिभावक एवं भुपु ब्रिटिस आर्मी अमृतमान राई र तुलसीराज राईले बुवा रणबहादुर राई र आमा पञ्चसरी राईको स्मृतिमा ३ रोपनी १२ आना ३ दाम जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नयाँ भवन निर्माण गरिएको हो । विद्यालयलाई २० लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलव्ध गराएकामा भवन उद्घाटनको अवशरमा सम्मान गरिएको छ ।
विद्यालयको भौतिक विकासमा योगदान पुर्याएकामा उच्च मूल्यांकन गर्दै जग्गादाताको सम्मानमा विद्यालयको भवनमा शिलापत्र राखिएको छ । शिलापत्र हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बाचन गरेर उद्घाटन गरेकी छन् ।
राई २०७३ सालमा विव्यास अध्यक्षमा निर्वाचित भएपछि विद्यालयको आरसिसि भवन निर्माणले गति लिएको हो । सोभन्दा अगाडि विद्यालयको आरसिसि भवन बनेको थिएन ।
बुलापन्थे माबिमा स्थापना गरिएको डा. रणशेर राई स्मृति अक्षय कोषबाट विद्यार्थीलाई छात्रबृत्ति रकम प्रदान गरिएको छ । रणशेरको स्मृतिमा छोरा महेन्द्र राईले २०७५ सालमा स्थापना गरेको २ लाख ११ हजारा राशीको स्मृति कोषबाट जेहेन्दार, गरिब तथा दलित समुदायका गरी ९ विद्यार्थीलाई छात्रबृत्ति रकम प्रदान गरिएको हो ।
विद्यार्थीलाई जनही एक हजारका दरले छात्रबृत्तिक रकम प्रदान गरिएको विद्यालयले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा वडाध्यक्ष पृथीराज राई, राजनैतिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।