खोटाङ । कोभिड–१९ को महामारीका कारण शैक्षिक संस्था ठप्प छन् । महामारी तीव्र गतिमा फैलिरहेका कारण पठन–पाठन मात्र नभएर विद्यालयको वार्षिक परीक्षा समेत रोकिएको छ । कोभिड–१९ का कारण परीक्षा हुन नसक्दा शैक्षिक कार्यतालिका नै प्रभावित हुने अवस्था आएपछि खोटाङका स्थानीय तहले २०७७ सालको शैक्षिक नतिजा प्रकाशनका लागि आ–आफ्नै विधि अपनाउने तयारी गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निरन्तर विद्यार्थी मूल्यांकन, त्रैमासिक तथा अर्धवार्षिक परीक्षाको आधारमा २०७७ सालको वार्षिक नतिजा प्रकाशनको तयारी गरेको छ ।
कोभिड–१९ को महामारीका कारण वार्षिक परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएपछि गाउँपालिकाले सम्वन्धित विद्यालयमा प्रधानाध्यपकको संयोजकत्वमा आन्तरिक मूल्यांकन समिति गठन गरेर अर्को आन्तरिक मूल्यांकन उपसमिति गठन गरी सामाजिक एवं भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डका उपायहरु अवलम्वन गरी आगामी जेठ ३१ गते २०७७ सालको वार्षिक नतिजा सार्वजनिक गर्ने व्यवस्थाका लागि विद्यालयलाई निर्देशन दिएको छ ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक भूपेन्द्र राईको अध्यक्षतामा जेठ १८ गते बसेको गाउँ शिक्षा समितिको बैठकले सम्वन्धित विद्यालयका प्रधानाध्यपक संयोजक र विव्यासको शिक्षक प्रतिनिधि र प्रधानाध्यपकले मनोनित गरेको एक जना शिक्षक सदस्य रहने आन्तरिक मूल्यांकन समितिमार्फत वार्षिक परीक्षाको नतिजा तयार पारेर सार्वजनिक गर्ने/गराउने निर्णय गरेको छ ।
विद्यालयको कक्षा १ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीको आन्तरिक मूल्यांकन विद्यालयले गर्ने र कक्षा ८ को हकमा जेठ २७ गतेभित्र छात्र/छात्राको नाम, सिम्बोल नम्बर, जन्ममिति र ठेगाना सहित आन्तरिक मूल्यांकनबाट प्रदान गरिएको लव्धांक विवरण अनिवार्य रुपमा गाउँपालिकामा पेश गर्न भनिएको शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिड–१९ को महामारीका कारण गाउँ शिक्षा समितिको गत बैसाख १८ गते बसेको बैठकले शैक्षिक सत्र २०७७ को गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षा तथा कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाले पनि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षाको नजिताको आधारमा शैक्षिकसत्र २०७७ सालको परीक्षाफल प्रकाशन गर्न विद्यालयलाई निर्देशन दिएको छ ।
गत जेठ १७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले कोभिड–१९ को महामारीका कारण हाल परीक्षा सञ्चालन गराउने अवस्था नभएको भन्दै त्रैमासिक परीक्षाको अंकभार ४० प्रतिशत र अर्धवार्षिक परीक्षाको अंकभार ६० प्रतिशत मानेर परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको हो ।
आगामी जेठ २६ गतेभित्र भर्चुअल माध्यमबाट कक्षा १ देखि कक्षा ९ को परीक्षाफल प्रकाशन गर्न गाउँपालिकाभरीका विद्यालयलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जारी गरेको सूचनामा उल्लेख छ । कक्षा ८ को परिक्षाफलको हकमा भने तोकिएको ढाँचामा मार्क लेजर तयार गरी जेठ २५ गतेभित्र शिक्षा शाखामा पेश गर्न भनिएको छ ।