कुरा सफ्ट र हार्ड स्किल फ्यूजन बारे 

कुरा सफ्ट र हार्ड स्किल फ्यूजन बारे 

रोदिक खबर

२०, भाद्र २०७८
  • 6.5K
    SHARES
  • कुरा सफ्ट र हार्ड स्किल फ्यूजन बारे 

    अध्ययन, तालिम वा प्रशिक्षण पछि व्यवहारमा आउने स्थायी परिवर्तनलाई सिकाइ भनिन्छ । सिकाइमा ज्ञान, सिप र अभिबृति जस्ता तीन पक्षहरुमा स्वभाविक  परिवर्तन हुन्छ ।

    ज्ञान पक्षमा  कुनैपनि बिषयवस्तुको बारेमा  बताउने, व्याख्या विश्लेषण गर्ने तथा त्यसको बारेमा अर्थ र परिभाषा बताउन सक्ने क्षमता पर्दछ भने सीप पक्षले कुनैपनि बिषयवस्तुको बारेमा निर्माण, मर्मत तथा आविस्कार जस्ता विशेष कार्यलाई बताउँछ भने अभिबृति जस्तो पक्षले कुनैपनि बिषयवस्तुको बारेमा आफ्नो धारणा, चिन्तन तथा समालोचनात्मक टिका टिप्पणीको बारेमा वकालत गर्छ ।

    कुनै विद्यार्थीले नेपालको क्षेत्रफल बताउन सक्छ, कुनै विद्यार्थीले रेसिपी अन्तरगत आलुको पकौडा बनाउन जान्दछ या बिजुलीको फ्यूज परिवर्तन गर्न सक्छ अनि अर्को विद्यार्थीले नेपालमा हाल भइरहेको हत्या तथा हिंसाको नियन्त्रणको बारेमा आफ्नो सकारात्मक धारणा राख्नुको साथै त्यसको निराकरणको लागि स्वतन्त्र रुपमा सकारात्मक तरिकाले समालोचना  तथा हल गर्न जान्दछ भने यी पक्षहरु क्रमश ज्ञान, सीप र अभिबृति पक्षसँग सम्बन्धित बिषयवस्तुहरु हुन । विद्यालयमा विद्यार्थीले सिक्ने ज्ञान, सिप तथा अभिबृतिलाई मूख्यतया दूई भागमा बाड्न सकिन्छ जस्तो सफ्ट र हार्ड स्किल ।

    सफ्ट स्किल भन्नाले विद्यार्थीको चरित्रको विकासदेखि लिएर उसको अनुशासन, नैतिकता, बानी व्यहोरा, आचरण, शील स्वभाव, बोलीचाली, उसमा भएको मानवीयता, दया धर्म, संस्कार तथा संस्कृतिको जगेर्ना जस्ता यावत कुराहरु यस भित्र अटाउँछन् । बिशेष गरि हाम्रो पर्वीय दर्शनमा यसको बारेमा ठूलो व्याख्या विश्लेषण गर्नुका साथै यो खासगरी अध्यात्मवादसँग सम्बन्धित रहेको छ ।

    सफ्ट स्किलको लागि पाश्चात्य मुलुक भन्दा पूर्वीय मुलुकहरुमा यसको विकासक्रम बढि र प्रभावशाली रहेको छ । यो भौतिकवादी दर्शन भन्दा पनि अध्यात्मबादी चिन्तनसँग बढि नजिक रहेको छ । यसले मानवीयता दया, धर्म, संस्कार तथा आपसमा भाईचारा तथा विश्ववन्धुत्वको भावनाको विकासमा जोड दिन्छ ।

    अर्को शब्दमा यो खासगरी अहिलेको ग्लोबलाईजेशनको परिदृष्यमा विश्व मानवीय सम्वन्धलाई सुमधुर बनाउनको लागि र आपसी भाइचाराको सम्बन्ध कायम गर्न यस्को बढि महत्व रहेको छ । यो स्किलको सहायताबाट अहिले विश्वमा भईरहेको हत्या, हिंसा, नरसंहार तथा आणविक हतियारको दुरुपयोगमा रोक लगाउनको लागि यसको ठूलो हात रहेको हुन्छ । यदि विश्वमा रहेका सबै मानिसहरुमा यो स्किलको ज्ञान भएमा आगामी दिनहरुमा हुन सक्ने विश्व युद्धको संभावित खतरालाई न्यूनिकरण गर्नको लागि यस्को ठूलो भूमिका हुने कुरामा यसका अनुयायीहरु बताउँछन् । 

    अर्कातर्फ हार्डस्किल भनेको एक किसिमको पेशा वा व्यवसायसगँ आवद्ध गराउने सीप हो जसले मानवलाई रोजगारीको दुनियाँमा प्रवेश गराएर उसलाई स्वाबलम्बी बनाउनको लागि ठूलो भूमिका खेल्छ । कुनैपनि पेशा, व्यवसाय, रोजगार तथा कामको लागि आवश्यक पर्ने सबै खाले सीपहरु खासगरी हार्डस्किलमा पर्छन ।

    यस्तो खाले सीपले कुनैपनि व्यक्तिलाई बेरोजगारी बन्नबाट बचाउछ र योग्यता वा सीप प्राप्त गरि सकेपछि उसले जागिर वा व्यवसायको लागि कुनै पनि व्यक्ति वा संस्थाको मुख ताकी रहनु पर्दैन, आफ्नै सीपमा आधारित उद्योग कलकारखाना वा सानो तिनो व्यवसाय सञ्चालन गरेर आफैँ प्रमुख बनी संभव भएसम्म बरु अरु व्यक्तिलाई रोजगारी दिएर आफु मालिक बन्ने सुअवसर यस्तो किसिमको सीपले दिन्छ ।

    यो सीप आजको बेरोजगारी दुनियाँमा अति आवश्यक र ज्वलन्त छ । यो एक किसिमको भौतिकवादी चिन्तनमा आधारित धारणा हो । यसले भौतिक रुपमा जे देख्छ त्यहि कुरालाई साथ र समर्थन गर्दछ । रोजगारीको दुनियामा मानिसहरुलाई लैजाने यो एउटा विशिष्ट प्रकृतिको विधा हो ।

    पश्चिमेली विज्ञान र प्रविधिको चरम विकास र सभ्यतामा यसको ठूलो भूमिका रहेको छ । यो स्किलले कुनैपनि व्यक्तिहरुलाई रोजगारी तथा स्वावलम्बनको लागि आकर्षण गर्दछ । यो वर्तमान समयको माग पनि हो । अहिलेको शिक्षा प्रणालीमा यो स्किलको भनौ या प्राविधिक वा व्यवसायिक बिषयको ठूलो बजार माग छ । यो स्किल प्राप्त गरेको ब्यक्ति बेरोजगारी हँुदैन र विश्ववजारमा सजिल्यै विक्न सक्ने जनशक्तिको रुपमा उ चिनिन्छ ।

    विज्ञान तथा प्रविधि र सूचना तथा संचारको चरम विकासले गर्दा अहिले विश्व प्रगति तथा सभ्यता र आर्थिक रुपमा अग्रगामी छलाङ मार्न सक्षम भएको छ । जसको कारण अहिले मानव नभएर एउटा स्वचालित यन्त्र भएको छ । हरेक क्षेत्रमा मानिस अहिले यन्त्रवत रुपमा काम गरिरहेको छ । उसमा फुर्सदसम्म छैन । हँुदा हुँदा अहिले मानिसहरु विनासकारी यन्त्रको निर्माणमा अहोरात्र लागिपरेका छन ।

    यो केबल विकास र शान्तिको लागि मात्र नभएर शक्तिको होडको लागि पनि दुरुपयोग हुन थालीसकेको छ । अहिले विश्वमा मानिसहरुलाई पनि आतंकित बनाउने खालका क्षेप्यास्त्रहरुको निर्माण तथा प्रयोग हुन थालेका छन । यसले एक किसिमको शान्ति र विकास प्रक्रियामा तथा मानवीय सभ्यतामा ठूलो बिचलन ल्याउन थालेको छ ।

    मानवीयता हराएको छ अनि धर्म संस्कार अनुशासन र मर्यादालाई कुल्चिन थालेको छ । मानिसहरुलाई ढोंगी, स्वार्थी, निकम्मा, मतलबी र क्रान्तिकारी बनाएको छ । अझ पैसा मुखी र एककोहोरो प्रवृतिका स्वभाव भएका मानिसहरु मात्र निर्माण गर्ने काम भएको छ । पैसा र स्वार्थका लागि दोडिरहदा धेरै सामाजिक विकृतिहरु पनि देखा पर्न थालेका छन ।

    यसबाट हत्या, हिंसा, लुटपाट, अपहरण, बलात्कार जस्ता जघन्य अपराधहरु पनि हुन थालेका छन । भोलिका दिनहरुमा यसले सामाजिक अशान्ति, फुट तथा आपसी भाईचाराको सम्बन्धमा दरार पैदा गर्ने कुराको लक्षण आइसकेको छ । शतिmको होडबाजी, धनको घमण्ड, बल र विवेकको दुरुपयोग, मानवीयताको ह्रास जस्ता अनैतिक कार्यको सिर्जना अवश्य हँुदैछ ।

    अबको भावी शिक्षाको भूमिका के रहने त ? अवको शिक्षाले यस्तै किसिमका बेस्वादिला र दया तथा मानवताहिन व्यक्तिमात्र उत्पादन गर्ने त ? अबको शिक्षाले वद्यार्थीहरुलाई हार्ड तथा सफ्ट स्किल दुबै खाले ज्ञान र सीप  दिन अति आवश्यक अवश्य छ  तर यी दुबैलाई अलग्याएर लैजान भने कदापि हुँदैन ।

    किनकी यी दुई स्किलको सम्बन्ध भनेको नङ्ग र मासुको जस्तै हुनु पर्दछ । अवको विद्यालयको पाठ्यक्रममा यी दुबै स्किललाई सँगै लिएर अघि बढाउन सक्नु पर्दछ । विकसित राष्ट्रले पन्ध्रौं शताब्दी तिर अव्यवहारिक र एक्स्पाएर भएको भनेर रद्धीको टोकरीमा मिल्काएको पाठ्क्रम उठाएर ल्याइ यहाँ प्रयोग गर्नु आवश्यक छैन ।

    प्राविधिक सीपले मानिसहरुलाई व्यवसायतिर त अवश्य लैजान्छ उ कामयावी अवश्य बन्ला तर यदि उसमा नैतिकता, अनुशासन मर्यादा दया तथा मानवीयताको ज्ञान भएन भने उ एउटा चरित्रवान मानिस अवश्य बन्न सक्दैन । उ केबल मेसिन मात्र बन्छ, स्वीच थिचेर कार्य गर्ने । यसले निकट भविष्यमा कुनै न कुनै समस्या निम्त्याउन सक्छ ।

    अर्कातर्फ उसलाई सफ्ट स्किल मात्र दिदा पनि उ एउटा चरित्रवान नागरिक त अवश्य बन्छ तर खोक्रो आदर्शले मात्र पनि पेटको समस्या हल हुँदैन । व्यतिm, समाज राष्ट्र र अन्तराष्ट्रिय परिबेशमा उसको माग हँुदैन, उ बिक्दैन । तसर्थ यी दुबै सिपको फ्यूजन गराएर शिक्षण गर्नु आजको आवश्यकता हो ।

    उ पेशा तथा व्यवसायमा सम्लग्न हुन पनि सकोस तथा उसमा मानवीय गुणहरुले पनि सुशोभित बनोस् । उ एकलव्य, लक्ष्मण, श्रवणकुमार तथा मर्यादा पुरुषोत्तम राम पनि बनोस र थोमस एल्बा एडिसन, फराडे, बिलगेट्स तथा अम्बानी पनि बनोस । (लेखक खत्री  : भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका शिक्षक हुन् ।) 

    प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २१:४०:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको