शुभकामना कविता

शुभकामना कविता

रोदिक खबर

६, माघ २०८०
  • 10.4K
    SHARES
  • शुभकामना कविता

    तीर्थराज भासित 

    कविता चित्त नदुखाउ      
    उत्सव र महोत्सवकी प्रिय हौ तिमी
    घाट र चौतारीकी साहारा हौ 
    घाम पानी र अन्धकारमा रमाउने 
    अदालतदेखि खलियानसम्म
     पुग्न सक्ने शक्तिशाली हौ कविता 
    हो तिमी सबैकी प्रिय हौ 

     कहिले रून सक्ने र  हॅास्न पनि
    लेकवेसी धाउन सक्ने 
    भन्ज्यांग चौतारीमा रमाउन सक्ने
    तर शहरका केही बुज्रुकहरू 
    पेवा बनाउन तम्सि रहेका छन् तिमीलाई

    कथा लघु कथामा 
    लत्रिन थालेकाछन् 
    कतैकतै सॅाडे झैं 
    डुक्राउन खोज्दै छन् 
    तर नडराउ तिमी 
    सबै की प्रिय छौ कविता 
    चालकदेखि शासकसम्म 
    सबैले मन पराउॅछन् 

    तिमीलाई पिंजडामा छोप्नेहरू
    हराउॅदै जानेछन् 
    अनि अझ सर्वत्र सबैकी प्रिय बनेर
    मन मुटुमा राज गर्ने  छौ  
    तिमीलाई स्वतन्त्रता छ 
    हामी जस्ता हजारौंले साथ दिनेछन् 
    उन्मुक्तिसॅग हॅास्ने र उत्सव मनाउने
    हो यहि हो तिम्रो अधिकार 
    तर रून्चे स्वरमा चिच्याउनेहरू
    तिमीलाई हॅास्न र रून नदिनेहरू
    खोज्दैखोज्दै हिड्ने छन् 

    भौंतारिंदै गल्ली गल्लीमा 
    लम्पसार पर्नेछन् अनि 
    ल्याउ हातेमालो गर्दै 
    आफ्नै मूलधारमा डोऱ्याउ र 
    पिलन्धरे चरित्रलाई नतमस्तक बनाउ 
    र सबैसबै की प्रिय बन कविता 
    यहि छ शुभकामना ।

    प्रकाशित मिति :माघ ६, २०८० शनिवार - ०६:१६:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको