खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा १८८ स्थानीयले सेवा पाएका छन् ।
स्वास्थ्य परीक्षण एबं औषधिका लागि साविकको सदरमुकाम दिक्तेलमा रहेको जिल्ला अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गर्दै वडा कार्यालय र स्वास्थ्यचौकी बुईपाले शुक्रबार पञ्चरदोबाटोमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा बुईपा, बिजयखर्क, राजापानी र अर्खौलेका सर्वसाधारण लाभान्वित भएको बुईपा स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए ।
स्वास्थ्य शिविरमा सबैभन्दा बढि बृद्धबृद्धा त्यसमा पनि महिलाले सेवा लिएका छन् । स्वास्थ्य शिबिरमा सबैभन्दा बढि प्रेसर, सुगर, मुटु, दम, नशा र थाईराइड सम्वन्धी समस्या भएका बिरामी स्वास्थ्य जाँचमा आएका थिए ।
स्वास्थ्यमा जटिल समस्य देखिएका स्थानीयलाई स्वास्थ्य परिक्षण सँगै तत्काल अस्पताल जानका लागि सल्लाह दिइएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताए । शिबिरमा आङ खसेका पाँच महिलाको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई जनाको रिङ प्रेसरी राखिएको छ ।
जनतालाई आफ्नै गाउँमा स्वास्थ्य जाँच गर्ने, औषधि निःशुल्क प्रदान गर्ने र स्वास्थ्य समस्या बुझेर समयमै रोगको निदान गर्ने व्यवस्थाका लागि स्वास्थ्य शिबिर आयोजना गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिविरमा आएका थिए ।
शिविरमा जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिक र हलेसी तुवाचुङ नगरपालिकाका अस्थायी कोभिड अस्पातालका डा. कृष्णकुमार राउतले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिबिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।