शुक्रवार, भाद्र २६ गते २०८३

मन्त्री ढकालको स्पष्टीकरण : स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्‍नता छैन

मन्त्री ढकालको स्पष्टीकरण : स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्‍नता छैन

रोदिक खबर

३, पौष २०७७
  • 3.3K
    SHARES
  • मन्त्री ढकालको स्पष्टीकरण : स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्‍नता छैन

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। 

    संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन्। 

    तर आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीविरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए।

    उनले भने, ‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीविरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु।’

    आफूले सहजीकरणका लागि मात्रै नीतिगत हिसाबले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम मात्रै गरेको बताए। त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफूले नगरेको पनि दाबी उनले गरे।

    ‘भएका विषयलाई सहजीकरण गर्न अप्ठेरो परिस्थितिको सामना गर्ने विषयमा नीतिगत हिसाबले मन्त्रिपरिषदमा यो प्रस्ताव लाने, तलबाट उठेको विषयलाई मैले स्वीकृति दिएको मात्र हो। यसमा अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेपको विषय नभएको व्यहोरा पनि म सादरपूर्वक अनुरोध गर्न चाहन्छु।’

    मन्त्री ढकालले चैत ९ गते मन्त्रिपरिषदको निर्णय भएअनुरुप र चैत ११ गते उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धमा १२ गतेका निर्णयहरु भएको बताए। तर आफू १२ गते १ बजे देखि ३ बजेसम्म स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएको तर त्यसपछिका कुनै पनि कार्यक्रममा सहभागी नभएको समेत बताए।

    त्यसपछिका सबै प्रक्रियामा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशककै नेतृत्वमा कामहरु भएको पनि उनले बताए। उनले भने, ‘१२ गते स्वास्थ्य सेवा विभागको आयोजनामा मन्त्रालयमा हामीले भेला गरेका थियौं। त्यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा म उपस्थित छु र १ बजेदेखि तीन बजेसम्म त्यो कार्यक्रम भयो। त्यस्ता कार्यक्रमहरु पनि चरण चरणमा भएका थिए। त्योभन्दा पछि ७ वटा समूह छनोट गर्ने कुरा त्यो पछिका अरु प्रक्रियामा सम्बन्धित विभाग र विभागको महानिर्देशक कै नेतृत्वमा यी कामहरु भएका हुन्।’ 

    खरिद प्रक्रियामा मन्त्रीको स्वास्थ्य विज्ञ सहभागी हुने विषयमा समेत मन्त्री स्तरबाट कुनै निर्णय नभएको पनि मन्त्री ढकालले बताए। तत्कालीन महाप्रबन्धकको तर्फबाट मन्त्रीको विज्ञ सल्लाहकार त्यो विषयको जानकार भएको कारणले त्यससम्बन्धी जानकारी लिन सहभागी गराइएको बताए।

    खरिदका लागि सम्झौता गर्ने, सम्झौता खारेज गर्ने सबै अधिकार पूर्ण रुपमा महाप्रबन्धकको भएकाले पनि आफूसँग सम्बन्धित नरहेको समेत बताए। उनले थपे, ‘सम्झौता गर्ने, सम्झौता खारेज गर्ने, आर्थिक अधिकारदेखि यो सम्पूर्ण विषयमा कानूनतः पनि यो महाप्रबन्धकको अधिकार भएको व्यहोरा म सम्मानित समितिलाई जानकारी गराउन चाहन्छु र १९ गते स्वयं महाप्रबन्धकले यो सम्झौता एकपक्षीय ढंगले खारेज गर्नुभएको कारणले पनि कानूनतः यो विषय त्यहीसँग सम्बन्धित हो भन्ने कुरा छ।

    यसमा परिस्थिति गम्भीर, अप्ठेरो, सामग्रीको अभावमा भयावह हुनसक्ने स्थितिलाई मध्यनजर राखेर छिटो छरितो गर्ने विषयमा सहजीकरण गर्न मन्त्रिपरिषद प्रस्ताव लैजाने विषयमा मन्त्रीको हैसियतले आफूले सहमति जनाएको उनको जिकिर थियो।

    प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - २१:१२:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको