खोटाङ । खोटाङका नेकपाका दुई नेताले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका छन् ।
१ नम्बर प्रदेशकी सांसद एबं नेकपाका प्रदेश कमिटि सदस्य उषाकला राई र नेकपाका प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रामप्रसाद दंगालले सामाजिक सञ्जालमार्फत ओली समुहको केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन् ।
सचिव दंगालले बुधबार साँझ तथा प्रदेश सांसद राईले बिहिबार बिहान सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका हुन् । प्रदेशसभा सांसद राईले आफ्नो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न असमर्थ भएको जानकारी गराएकी छन् । सांसद राई र सचिव दंगाल पूर्व एमाले छँदा माधव नेपाल समुहमा चिनिदै आएका थिए ।
ओली समुहमा उभिएको जानकारी पाउँदा सांसद राई र सचिव दंगाललाई गाली गरिरहेका प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले अहिले उनीहरुकै प्रशंसा गरिरहेका छन् भने आफ्नो समुहमा खुल्दा गुनगान गाइरहेका ओली समुहका कार्यकर्ता पुःन उनीहरुलाई गाली गर्न थालेका छन् ।
मंगलबार सांसद राई र सचिव दंगाललाई ओली पक्षले केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको थियो । ‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ, तर पद र पैसा केही होइन । जनताको दुई पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ ।
सबै प्रकारका गलत कुराहरु मूख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइ रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ,’ सांसद राईले लेखेकी छन्, ‘यो बिचको विकसित राजनीतिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटि जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु ।
तर मेरो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न असमर्थ महशुस भएको छ । त्यस कारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’
सचिव दंगालले पार्टीको जिल्ला सचिव र प्रदेश कमिटी सदस्य समेत रहेको हुँदा हाल यो पार्टीको केन्द्रीय सदस्य पदमा नरहने लेखेका छन् । ओलीले खोटाङबाट राई, दंगाल सहित हरि पोखरेल, कर्ण घले, रमेश पौडेल र भीम राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । प्रदेशसभा सांसद राजन राई भने हालसम्म कुनै समुहमा नलागि तटस्थ बसिरहेका छन् ।