खोटाङ । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा बिन्दा थापा सर्वसम्मत निर्वाचित भएकी छन्। केन्द्रको आफ्नै सभाहलमा मंगलबार सम्पन्न छैटौँ अधिवेशन तथा १३ औं साधारणसभाले थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा कमला घिमिरे, सचिवमा मिना कार्की, सहसचिवमा संगीता राई र कोषाध्यक्षमा गमिता राई निर्वाचित भएका छन्।
यस्तै सदस्यहरूमा कविता राई, जयन्ती राई, मुना चम्लागाई, पार्वती आचार्य, अन्जना केसी, गोमा विश्वकर्मा, यसोधा खड्का, सुवती राई, सविता रम्तेल र कमला वन रहेका छन् ।
खोटाङ जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेतृ तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित महिला अध्ययन केन्द्रले महिलाको राजनीतिक सहभागिता अभिवृद्धि, नेतृत्व विकास, अधिकार संरक्षण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ।
महिला अध्ययन केन्द्र खोटाङकी अध्यक्ष एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य एवं कोशी प्रदेश सामाजिक विकास पूर्वमन्त्री उषाकला राईको प्रमुख आतिथ्यता तथा जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
साधारणसभामा सहभागी वक्ताहरूले महिला सशक्तीकरणका लागि परिवारदेखि नै सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको औँल्याउँदै महिलालाई परम्परागत भूमिकामा मात्र सीमित राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
महिला अध्ययन केन्द्र महिलाहरूको साझा मञ्चका रूपमा विकास हुँदै गएको र यसले उनीहरूको क्षमता अभिवृद्धि तथा शिक्षित र सचेत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वक्ताहरूले बताएका थिए ।
“महिला अधिकारका लागि परिवारभित्रैबाट विद्रोह गर्नुपर्ने हुन्छ। परिवारमा परिवर्तनका लागि आवाज उठाइएन भने समाजमा परिवर्तन सम्भव हुँदैन। समाजमा परिवर्तन नभएसम्म महिलाहरू अगाडि बढ्न नसक्ने उल्लेख गर्दै महिलाहरू अझै पनि भान्सा र करेसाबारीजस्ता घरेलु काममा बढी सीमित हुनुपरेकोले महिलाको क्षमता, सम्भावना र नेतृत्व विकासमा बाधा पुर्याएको बताएका थिए ।
महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सक्षम बनाउन अवसर, पहुँच र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।