खोटाङ । संसद विघटन गरिएको बिरोधमा अनेरास्ववियु जिल्ला कमिटि खोटाङ (प्रचण्ड–माधव समुह)ले राँके जुलुस निकालेको छ ।
जनताको बलिदानीबाट स्थापना गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेसीता जस्ता राजनैतिक उपलव्धीमाथि प्रहार गर्नेगरी प्रतिगामी कदम चालिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटिका प्रचण्ड–माधव समुहले शुक्रबार साँझ दिक्तेलबजारमा राँके जुलुस प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नाराबाजी गर्दै दिक्तेलको हेलीप्याडबाट सुरु भएको राँके जुलुस पुरानो बेसक्याम्प, संगमपार्क हुँदै रत्नपार्क (किरातचोक) पुगेको थियो ।
असंवैधानिक कदम फिर्ता गर्न, राष्ट्रपतिको गरीमा कायम गर्न, विधिको शासन लागू गर्न लगायतका नारा लगाउँदै रत्नपार्क (किरातचोक) पुगेर राँको निभाएका विद्यार्थीले पुःन सरकार विरुद्ध कडा शव्दमा नाराबाजी गर्दै त्रिबेणीचोकसम्म जुलुस प्रदर्शन गरेका थिए ।
त्रिबेणीचोकमा भएको कोणसभालाई अनेरास्ववियु जिल्ला कमिटि खोटाङका संयोजक मायाँ चाम्लिङले सम्बोधन गरेकी थिईन् ।
प्रचण्ड निकट रहेकी संयोजक चाम्लिङले प्रतिगामी र गैर–संवैधानिक संसद विघटनले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएको दावी गरेकी छन् । राँके जुलुसलाई प्रहरीले बिच–बिचमा हस्तक्षेपको प्रयास गरेका थिए ।