खोटाङ । खोटाङमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि (प्रचण्ड–माधव समुह) ले प्रतिनिधिसभा विघटनप्रति खेद प्रकट गरेको छ ।
नेपाली जनता र नेकपाका आम कार्यकर्ताको चाहना विपरित निहित स्वार्थका लागि अकस्मात र अकल्पनिय ढंगले संसद विघटन गरिएको भन्दै नेकपाको नगर कमिटिमा आवद्ध प्रचण्ड–माधव समुहले विज्ञाप्ति जारी गर्दै खेद प्रकट गरेको हो ।
नेपाली जनताको आशा, चाहना, लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा बहुमत प्राप्त सकार सञ्चालकबाट सार्वभौम सम्पन्न संसदको विघटन गर्ने कदम चालिएको भन्दै सामुहिक विज्ञाप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
नेकपाका नगर कमिटि अध्यक्ष विसन राई, सचिव गोपालचन्द्र आचार्य लगायत बहुसंख्यक सचिवालय सदस्यको हस्ताक्षर रहेको विज्ञाप्तिमा राज्यलाई पुःन अस्थिरता र आर्थिक संकटतर्फ धकेल्ने गरी गरिएको असंवैधानिक कदम खारेजीको माग गरिएको छ ।
‘नेपाली जनताको आशा, चाहना, लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जनताको जनमतबाट बहुमत प्राप्त गरी सोही संसदको माध्यमबाट गठित सरकारका सञ्चालकहरुबाट भएको सार्वभौम सम्पन्न संसदको विघटन गर्नु गैर–संवैधानिक तथा अलोकतान्त्रिक कार्यप्रति खेद प्रकट गर्दछ,’ शुक्रबार जारी गरिएको विज्ञाप्तिमा भनिएको छ, ‘स्थिर र स्थायी सरकारका लागि नेपाली जनताले पाँच वर्षका लागि दिएको जनमतको अपमान गर्दै कोरोना भाईरसबाट थलिएको राज्यलाई पुःन अस्थिरता र आर्थिक संकटमा धकेल्ने गरी गरिएको असंवैधानिक कदमको खारेजी गर्न माग गर्दछौँ ।’
विज्ञाप्तिमा विषय परिस्थितिमा सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक तथा जनसमुदायलाई धैर्यताका साथ पार्टी एकताको पक्षमा उभिन अपिल गरिएको छ । विज्ञाप्तिमा उल्लेख २८ जनाको नामावलीमा अधिकांशको हस्ताक्षर देखिएको छ ।