नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटिका आमन्त्रित सदस्य एबं पूर्वसांसद टंक राईले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।
संसद विघटनको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले मंगलबार दिक्तेलमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता राईले कुनैपनि सरकार बन्न नसक्ने अवस्थामा मात्र संसद विघटन गर्ने व्यवस्था विरुद्ध प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको बताएका छन् ।
विरोध जुलुस प्रदर्शनपछि जिल्ला समन्वय समितिको प्रांगणमा भएको कोणसभालाई सम्बोधन गर्दै नेता राईले संसद विघटनलाई जनताले खारेज गरेको बताएका छन् । ‘अहिलेको अवस्थामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।
यो असंवैधानिक कदम खारेज हुनुपर्छ,’ नेकपाका स्थायी कमिटिका आमन्त्रित सदस्य एबं पूर्वसांसद राईले भने, ‘अदालतले के फैसला गर्छ त्यो प्रतिक्षाको विषय हो । तर नेपाली जनताले संसद विघटन गर्ने कदम अस्वीकार गरिसकेका छन् । संविधानको रक्षाका लागि हामी सडकमा आएका हौँ ।’
साझा भूमीकामा रहनुपर्ने राष्ट्रपति जनताको नभै प्रधानमन्त्रीको मात्र भएको राईले आरोप लगाए । ‘म नै राज्य हुँ, राज्य नै म हुँ’ भन्ने लुई १४ औंलाई जनताले सडकमा फालेको चर्चा गर्दै नेता राईले राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि जनताले सडकमा पुर्याउने दाबी गरे । उनले बहुमत पक्ष प्रचण्ड–माधव समुहमा भएकाले संस्थापन पनि सोही समुह हुने बताएका छन् ।