खोटाङ । सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ ।
दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै बोपुङको डुम्रेबोटेमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्र आइतबार विघटित संविधानसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् ।
बोपुङको डुम्रेबोटेमा स्वास्थ्यचौकी सरहको सेवा प्रवाह गर्नेगरी सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।
आवश्यक औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेर डुम्रेबोटेमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो । ६ वडामध्ये डुम्रेबोटेमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्र गाउँपालिकाकै तेश्रो हो ।
सामुदायिक स्वास्थ्य इकाई केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
यसअघि जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटारमा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरि सकिएको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँपालिकाकै दोश्रो बर्थिङ सेन्टरबाट गत पुस १४ गतेदेखि सेवा सुरु गरिए पनि औपचारिक उद्घाटन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।