खोटाङमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान ओली सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा असंवैधानिक ढंगले संसद विघटन गरेको विरोधमा कांग्रेसले शनिवार दशै पालिकामा विरोध प्रदर्शन गरेको हो ।

दुई नगरपालिका, आठ गाउँपालिकाका सभापतिहरुको अध्यक्षतामा सरकार विरुद्ध चर्को नारा जुलुस लगाएर संसद विघटनको विरोध गरिएको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । नारा जुलुसपछि भएको कोणसभालाई कांग्रेसका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिकाको कोणसभालाई पार्टी सभापति नरेशकुमार श्रेष्ठ,दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य तथा पूर्व पार्टी सभापति विष्णुकुमार राई, जन्तेढुंगा गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य सुवाशकुमार पोखरेल, केपिलासगढी गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य तथा पूर्वमन्त्री सर्वधन राई, ऐसेलुखर्क गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य रविप्रकाश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोणसभालाई महासमिति सदस्य दिनेश राईले सम्बोधन गरेका छन् ।

यस्तै, खोटेहाङ गाउँपालिकाको कोणसभालाई महाधिबेशन प्रतिनिधि बिरकाजी राई, साकेला गाउँपालिकाको कोणसभालाई महाधिबेशन प्रतिनिधि विमला राई, बराहपोखरी गाउँपालिकाको कोणसभालाई पार्टी उपसभापति धर्मराज पोखरेल र रावावेशी गाउँपालिकाको कोणसभालाई पार्टी सचिव इच्छु रानाले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओली सरकार सर्वसत्तावाद, भ्रष्टाचारी सरकार र संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको नेताहरुले बताएका छन् । संसद विघटनको विरोधमा ८ माघमा जिल्लाको ७९ वडामा विरोध कार्यक्रम तय गरिएको पार्टी सभापति श्रेष्ठले बताए ।