बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दियो यस्तो चेतावनी

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दियो यस्तो चेतावनी

रोदिक खबर

१२, माघ २०७७
  • 2.8K
    SHARES
  • प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दियो यस्तो चेतावनी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतवार काठमाडौंमा आयोजित एक अन्तरक्रियाकार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी भएको आरोप लगाएपछि सोमवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको अधिव्यक्ति अलोकतान्त्रिक रहेको प्रधानमन्त्रीको अधिनायक आकांक्षा थप उजागर भएको बताएका छन् ।

    फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्ने नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । “संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी। शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो ।

    प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।” उनले भने । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको बताएका छन् ।

    त्यस्तै प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चको बहसलाई समासाको संज्ञा अदालत स्वतन्त्र विवेकलाई कुण्ठित पार्ने प्रयत्न भएको बताए । अधिवक्तालाई गाली, आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति रहेको र पूर्वप्रधानन्यायधीशहरुलाई अजासु भनी टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको बताएका छन् ।

    “सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।” जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेका आरोप कांग्रेसले लगाएको छ । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत प्रधानमन्त्रीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहेको कांग्रेसको ठहर छ ।

    “उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

     

    प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - २२:०४:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको