काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।
सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ। कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपास समेत गरेको थियो ।
काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।
यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् । मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएको छ । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।
पछिल्लो समय संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि बिहीबार प्रचण्ड-माधव समूहले आम हड्ताल नै गरेको थियो ।