काठमाडौं । मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको हो ।
बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।
हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् ।
सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् । ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् ।