नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव पक्षको अखिल नेपाल महिला संघ खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्धमा अनेम संघले आइतवार ज्ञापन पत्र पठाएको हो ।
प्रधानमन्त्रीले जनताले निर्माण गरेको वर्तमान संविधानलाई कुल्चने काम गरेको भन्दै त्यस विरुद्ध अनेम संघले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको अखिल नेपाल महिला संघ संर्घष समिति खोटाङकी संयोजक ध्रुर्वा देवी राईले बताइन् ।

संघद्धारा पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई नेपाली जनताले दिएको म्याण्डेड विरुद्ध लागेको आरोप समेत लगाईएको छ । संविधानको पालन गर्नुपर्ने व्यक्तिले धज्जी उडाएको भन्दै संघले ज्ञापनपत्र मार्फन प्रधानमन्त्रीले चालेका कदमलाई यथाशीघ्र सच्याउन आग्रह गरेको छ ।
प्रधानमन्त्रीको असंबैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने संयोजक राईको भनाई छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले तत्काल प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाइने बताए ।