कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले वर्तमान प्रधानमन्त्रीलाई संविधानसभा विघटनको अधिकार नभएको बताएका छन् । नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ७६ को उपधारा १ अन्तरगत नियुक्त प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको गुरुङ बताएका हुन् ।
‘संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री रहिरहन नसकेमा संसद विघटनको सिफारिस गर्ने छ र ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्ने छ भनिएको छ,’ गुरुङले भने, ‘अहिलेको प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त होईन ।
धारा ७६ को उपधारा १ अन्तरगत नियुक्त अहिलेको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो, त्यो असंवैधानिक भयो ।’
केन्द्रीय सदस्य गुरुङले नेकपा औपचारिक रुपमा बिभाजित नभएसम्म र दुई वटा चुनाव चिन्ह प्राप्त नगरेसम्म संसद विघटन विरुद्धको आन्दोलनमा कांग्रेस एक्लै जाने स्पष्ट पारेका छन् ।
नेकपाले बैधानिक रुपमा दुई वटा निर्वाचन चिन्ह पाएपछि मात्र असंवैधानिक कदम विरुद्धको आन्दोलनको स्वरुपका विषयमा छलफल हुने उनले बताए ।
‘दुईटा नेकपाले जवसम्म दुईटा चुनाव चिन्ह प्राप्त गर्दैन तवसम्म सत्तामा बस्ने र सडकमा बस्ने नेकपालाई हेर्ने हाम्रो दृष्टिकोण एउटै हुन्छ । त्यो अवस्थासम्म हामी जुनसुकै नेकपासँग पनि मिलेर संयुक्त आन्दोलनमा जाँदैनौं,’ केन्द्रीय सदस्य गुरुङले भने, ‘जव नेकपा विभाजित हुन्छ ।
बैधानिक रुपले दुईटा निर्वाचन चिन्ह प्राप्त गर्नुहुन्छ । अनि मात्र आन्दोलनको स्वरुपका बारेमा छलफल हुन्छ र सहकार्य गर्ने पार्टीको टुंगो लाग्छ ।’
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाँईको अध्यक्षता भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि गुरुङ, नेपाली कांग्रेस खोटाङका पूर्व पार्टी सभापति विष्णुकुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, संविधानसभा सदस्य सरस्वती वजिमय, महासमिति सदस्य रविप्रकाश राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य सुमनवावु आचार्य, प्रकाशकुमार श्रेष्ठ, नगर सभापति दुर्गाप्रसाद घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष टंकप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।