नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सेर पशुपतिको नाम जप्दै हिँडेको आरोप लगाएका छन् ।
बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताएका हुन् ।
केपी ओलीले अहिले मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न शुरू भएको छ, पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो असल छ, जसले धर्म गर्छ । पाप गर्नेलाई पशुपतिले हेर्दैनन्, केपी ओली चेतना भया– संविधान मिच्ने मिचाहा, लोकतन्त्रको हत्या गर्ने हत्यारा र जनअधिकार कुल्चनेलाई हेर्दैनन्,’ नेपालले भने । नेता नेपालले ओली नेकपाको पहिलो अध्यक्ष नभएको जिकिर गरे ।
‘अस्ति निर्वाचन आयोगलाई धम्क्याएर के भने भने म पहिलो अध्यक्ष हुँ । पहिलो अध्यक्ष नेकपाको होइन, ओली गुटको होला । बालकोटको होला । नेकपाको पहिलो अध्यक्ष होइनन्,’ नेपालले भने ।