खोटाङ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटि खोटाङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा गत माघ १६ गते भएको राजनैतिक भेलामा नेकपाका नेतृ एबं निवर्तमान सांसद झाँक्रीले सार्वजनिक रुपमा आपत्तिजनक अभिव्यिक्त दिएको भन्दै अनेमसंघ (ओली समुह) ले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र पठाउँदै पक्राउ गरी प्रचलित कानून बमोजिम हदैसम्मको सजाय गर्न माग राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्र हत्या गर्दै विभिन्न लाञ्छना लगाउने, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपति पदकै प्रतिष्ठामा धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शव्द प्रयोग गरेकाले नेतृ झाँक्रीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरिएको अखिल नेपाल महिला संघले जनाएको छ ।
अखिल नेपाल महिला संघकी उपाध्यक्ष अनिषा खनालले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई बुझाएको ज्ञापन–पत्रमा राष्ट्रपति संस्थाको संविधानको संरक्षक भएकाले यस संस्थाको मान, मर्यदा र गरिमाको रक्षाका लागि सरकार सक्षम आग्रह गरिएको उल्लेख छ ।
‘गोरखामा भएको राजनैतिक भेलामा नेपाल कम्यूनिष्ट पार्टीको निवर्तमान सांसद रामकुमारी झाँक्रीले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘निवर्तमान सांसद झाँक्रीले राष्ट्रपतिको चारित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपति पदकै ईज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तीजनक र अपमानजनक शव्द प्रयोग गरेकी छन् ।