खोटाङ । खोटाङमा ट्याक्टरले हानेर एक जनाको मृत्यु भएको छ । दिक्तेलबजारमा लामो समयदेखि मागेर जीवीका चलाउँदै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर– ६ नेर्पाका अन्दाजी ४५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो ।
ना ५ त ६६९१ नम्बरको ट्याक्टरले शनिबार साँझ ठक्कर दिँदा गेलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए ।
दिक्तेलस्थित राष्ट्रिय बाणिज्य बैंक नजिकै हिँडिरहेका गेलाललाई तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिएको स्थानीयले बताएका छन् । ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालक साकेला गाउँपालिका–४ मात्तिमका योगेन्द्र कट्वाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समान्य मानसिक सन्तुलन गुमाएका गेलाल दिक्तेलमा अधिकांश मानिससँग पैसा मागेर आफ्नो जीवन धान्दै आएका थिए । दिक्तेलबजारको सडक पेटीमा बस्दै आएका गेलालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा पठाइएको प्रहरीको भनाई छ । उनको शव बुझ्नका लागि आफन्तलाई खवर गरिएको प्रहरीले जानकारी दिएको छ ।