विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ ।
मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वर्षीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
सुराकी गरेको आरोपमा श्रेष्ठलाई विप्लव समूहका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर हत्या गरेका थिए । अनुसन्धान पश्चात प्रहरीले विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकण्डसहित ४२ जनालाई मुद्दा चलाउनुपर्ने प्रतिवेदन बुझाएको थियो ।
त्यसआधारमा जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार मुद्दा दायर गरेको हो । मुद्दामा मंगलबारबाट थुनछेक बहस हुने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
प्रतिवादीहरुमध्ये एकजना मात्रै पक्राउ परेका छन् । विप्लव समूहका मोरङ इन्चार्ज डिवि सिलवाल भनिने धनबहादुर विक प्रहरी हिरासतमा छन् । बयानका क्रममा उनले हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
विप्लवको निर्देशनमा जितेन्द्र महरासहित ६ जनाले अपहरणपछि हत्या गरेको अभियोग पत्रमा दाबी गरिएको छ ।