खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले खोटाङमा पनि विरोध प्रदर्शन गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै आएको कांग्रेसले सोमबार दिक्तेलमा विरोध प्रदर्शन गरेको हो।

वीपी स्मृति भवनबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै त्रिवेणी चौकमा पुगी सभामा परिणत भएको थियो। सभामा वक्ताहरूले केपी सरकारले जनमतको कदर नगरी तानाशाही प्रवृत्ति देखाएकाले सडकमा आउनुपरेको बताएका थिए।
कोण सभालाई सम्वोधन गर्ने वक्ताहरुले नेकपाले चुनावताका जनतालाई झुटा आश्वासन दिएर भोट लिएको र घर घरमा ग्यास, पानीजहाजका सपना बाँडेर कम्युनिष्टले जनतालाई धोका दिएको बताउदै बाँदरलाई मकै गोठाला बनाएर सुली तयार नहुने भन्दै संविधान र लोकतन्त्र रक्षा, जनतमत कदरका लागि जिल्लाबासीलाई कांग्रेस पार्टीमा लाग्न आग्रह गरेका थिए ।
एउटा मुद्दा सर्वोच्चमा र अर्को मुद्दा जनताको अदालतमा चलिरहेकोले दुवैको एउटै निष्कर्ष निस्कनेमा कांग्रेस विश्वस्त रहेको उनीहरुको भनाइ थियो। उनीहरुले संविधान र गणतान्त्रिक लोकतन्त्र रक्षा कम्युनिष्टबाट हुन नसक्ने बताएका थिए ।

नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति एवम् महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य सुवाशकुमार पोखरेल, पूर्वमन्त्री तथा महासमिति सदस्य सर्वधन राई, सभाषद सरस्वती बजिमय, निवर्तमान प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, महासमिति सदस्य रविप्रकाश राई, महासमिति सदस्य दिनेश राईलगायत महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्य समितिका नेताहरुले कोण सभालाई सम्वोधन गरेका थिए ।