खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पाँचौं सामुदायिक स्वास्थ्य इकाई केन्द्र विस्तार गरिएको छ । स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँड्न वाध्य नागरिकलाई मध्यनजर गर्दै जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको कात्तिकेमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो । बुधबार गाउँपालिका अध्यक्ष शंकर राईले कात्तिकेस्थित सामुदायिक स्वास्थ्य इकाई केन्द्र उद्घाटन गरेका हुन् ।
सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ गत माघ २७ गते डम्बर्खुशिवालयकै बाम्राङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको थियो । कात्तिकेमा गाउँपालिकाकै पाँचौं सामुदायिकस्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो ।
आवश्यक औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेर डम्बर्खुशिवालयको बाम्राङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । स्वास्थ्य सेवाका लागि आधा घण्टाभन्दा बढि समय हिँड्न वाध्य सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्यचौकी सरहको सेवा प्रवाह गर्नेगरी सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै यसअघि जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको बाम्राङ, जन्तेढुंगा गाउँपालिका–२ बोपुङको डुम्रेबोटे, जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटार र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरि सकिएको छ ।
सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने गरी चालु आर्थिक वर्षभित्रै बाँकी दुई वडामा सामुदायिक स्वास्थ्य इकाई केन्द्र विस्तारको काम पुरा गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर पनि स्थापना गरिएको छ । गाउँपालिकाकै दोश्रो बर्थिङ सेन्टरबाट गत पुस १४ गतेदेखि सेवा सुरु गरि सकिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।