खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दैै जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य शिबिर सुरु गरेको हो ।

बुधबार सुरु भएको स्वास्थ्य शिविरको पहिलो दिन २२४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।
ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङदेल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई लक्ष्यीत गर्दै विशेषज्ञ सहितको स्वास्थ्य शिबिर सुरु गरिएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल टेस्ट लगायतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, आगामी फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिबिरको तयारी गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।