खोटाङ । खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टाइनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टि भएको छ । गत साउन २३ गते विराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जन प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पूष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पूष्टि भएपछि बाँकी रहेका दुई जवानको पुःन पिसिआर परीक्षणकाक्रममा एक जनालाई संक्रमण भएको पूष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।
प्रहरी जवानलाई मंगलबार कोरोना संक्रमण पूष्टि भएको हो । कोरोना संक्रमण पूष्टि भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएका छ । उनीसँगै बसिरहेका अर्का जवानलाई भने क्वारेन्टाइनमै राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
‘एउटै क्वारेन्टाइनमा राखिएका आठ जना जवानमध्ये छ जनालाई संक्रमण पूष्टी भएपछि हालसम्म क्वारेन्टाइनमा राखिएका दुई जना जवानमध्ये एक जनालाई संक्रमण पूष्टि भएको हो,’ प्रनाउ चिमरियाले भने, ‘संक्रमितलाई आइसोलेसनमा सारिएको छ । बाँकी एक जनालाई क्वारेन्टाइनमै राखिएको छ ।
उसको पुःन पिसिआर परिक्षणको तयारी भइरहेको छ ।’ प्रहरी जवानलाई हाजिर हुन आए लगत्तै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा राख्ने र पिसिआर परीक्षणपछि व्यवस्था मिलाइएको छ । यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पूष्टि भएको छ ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।