खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार भएको भेलाले पवनकुमार श्रेष्ठको संयोजकत्वमा एकसय ११ सदस्यीय जिल्ला कमिटिको पुर्नगठन गरेको हो ।
कमिटिको सहसंयोजकमा शरद राईलाई चयन गरेको छ । युवा संघका जिल्ला संयोजक रसकुमार राई नेकपा ओली समुहमा लागेपछि संयोजकको पद रिक्त रहेको थियो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्वी’, राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय समितिका सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज राजु विक्रम राई, नेकपा प्रदेश समन्वय कमिटिका नेता विरवल राई, तारानाथ दाहाल, खोटाङ काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष बमवहादुर खत्री, खोटाङ काठमाडौं सम्पर्क मञ्चका नेता तथा जिल्ला पार्टीका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।