खोटाङ । कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका खोटाङका सर्वसाधारणलाई आगामी फागुन २३ गतेदेखि खोप दिने तयारी गरिएको छ । कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई फागुन २३ गतेदेखि फागुन २९ गतेभित्रमा कोभिशिल्ड खोप दिने तयारी गरिएको हो ।
जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिको शुक्रबार बसेको बैठकमा कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका सर्वसाधारणलाई खोप दिनका लागि पालिका स्तरिय खोप योजना बनाइएको जानकारी दिइएको छ ।
पहिलो चरणमा फागुन २३ गतेदेखि फागुन २९ गतेभित्र ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका लक्षित समुहलाई खोप दिने योजना बनाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
यस्तै, दोश्रो चरणमा आगामी चैत २ गतेदेखि चैत ८ गतेभित्र बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका लक्षित समुहलाई खोप दिने तयारी गरिएको छ ।
५५ वर्षदेखि ७४ वर्ष, ४० वर्षदेखि ५४ वर्ष उमेर समुहमध्ये क्यान्सर, मुटु तथा मिर्गौला जस्ता दीर्घ रोग भएका व्यक्ती, दीर्घ रोग भएका अन्य व्यक्ती, वैदेसिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोग भएका व्यक्तीलाई दोश्रो प्राथमिकताको रुपमा खोप दिने सरकारको तयारी छ ।
दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई खोप दिनका लागि शनिबारदेखि स्वास्थ्यकर्मी लगायतलाई आवश्यक तालिम, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ ।
पहिलो प्राथमिकतामा परेका लक्षित समुहका १ हजार ७४० जनालाई खोप दिइएकामा पुःन दोश्रो प्राथमिकतामा परेका करिब ४३ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ । खोप शिबिर तीन/तीन दिन सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
पहिलो प्राथमिकतामा परेका लक्षित समुहलाई गत माघ १५ गतेदेखि २४ गते र फागुन २ गतेदेखि ११ गतेभित्र दुई चरणमा कोभिशिल्ड खोप दिइएको थियो ।
यसअघि जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र स्वास्थ्यचौकी खोटाङबजारबाट कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएकामा दोश्रो प्राथमिकताका लक्षित समुहलाई भने हरेक वडाबाटै खोप दिने तयारी भइरहेको छ ।
स्वास्थ्यकर्मीका अनुसार खोप लगाइएकामध्ये कतिपयलाई थकान हुने, ज्वरो आउने, टाउको, जिउ दुख्ने लगायतका समस्या देखिने गरेको छ । जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ लगायतको उपस्थिति थियो ।