खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ३८१ सर्वसाधारण लाभान्वित भएका छन् ।
जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ सहितको स्वास्थ्य शिविरको पहिलो दिन १४३ जना र दोश्रो दिन २३८ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका हुन् ।
स्वास्थ्य शिबिरमा ७७ जनाको भिडियो एक्स–रे, ८१ जनाको दाँतको उपचार, ३४ जनाको ५२ वटा दाँत उखालिएको, ६१ जनाको सुगर चेक, २९ जनाको पिसाव परिक्षण, ४५ जनालाई चश्मा वितरण गरिएको छ ।
यस्तै, मोतियाबिन्दु भएका २८ जनाको पहिचान गरिएको, ७१ जना महिलाको स्त्रीरोग सम्वन्धी चेकजाँच गरिएको, पाठेघरको समस्या भएका २३ जनाको नमूना संकलन गरिएको, दुई जनाको रिङ प्रेसरी राखिएको र २१ जना बालबालिकाको बालरोग सम्वन्धी समस्याको उपचार गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।
आँखाका समस्या भएका ज्येष्ठ नागरिक, विपन्न, महिला, दलितलाई गाउँपालिकाले निःशुल्क चश्मा प्रदान गरेको हो । स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गरिएको स्वास्थ्य शिबिर गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गरेका थिए ।
दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत रावाबेँसीमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो । स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिबिर स्थलमा आइपुगेका थिए ।
यसअघि फागुन ५ र ६ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क, फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिला र फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा दुई÷दुई दिनको स्वास्थ्य शिविर आयोजना गरिएको थियो । पाथेकामा आयोजना गरिएको शिविरमा ५८० सर्वसाधारणले स्वास्थ्य सेवा पाएका थिए ।
स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।
स्वास्थ्य शिविरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका छन् ।
जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले आगामी फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरेको छ ।