• ट्रेण्डिङ:

दोश्रो प्राथमिकतामा परेका खोटाङका १० हजार बढिलाई कोभिशिल्ड खोप दिइने

दोश्रो प्राथमिकतामा परेका खोटाङका १० हजार बढिलाई कोभिशिल्ड खोप दिइने

रोदिक खबर

२०, फाल्गुण २०७७
  • 2.6K
    SHARES
  • दोश्रो प्राथमिकतामा परेका खोटाङका १० हजार बढिलाई कोभिशिल्ड खोप दिइने

    खोटाङ । कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका खोटाङका १० हजार बढि नागरिकलाई खोप दिने तयारी गरिएको छ । पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोग भएका गरी १० हजार ११४ जनालाई आगामी फागुन २३ गतेदेखि खोप दिने तयारी गरिएको हो ।

    जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिको बिहिबार आयोजित पत्रकारसँगको अन्तरक्रीया कार्यक्रममा आगामी फागुन २३ गतेदेखि चैत ८ गतेभित्र कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ । 

    दोश्रो प्राथमिकतामा परेका करिब ५० हजारलाई खोप दिने तयारी भइरहेको भएपनि खोपको अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोग भएका व्यक्तीलाई मात्र प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

    पहिलो प्राथमिकताका लक्षीत समुहलाई जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र स्वास्थ्यचौकी खोटाङबजारबाट कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएकामा दोश्रो प्राथमिकताका लक्षित समुहलाई भने ७९ वडाका स्वास्थ्यसंस्थाबाटै खोप दिने तयारी भइरहेको छ ।

    कोभिशिल्ड खोपका लागि हरेक स्वास्थ्य संस्थामा तीन÷तीन दिन शिबिर सञ्चालन गरिने जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ । 

    यस्तै, कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका सर्वसाधारणलाई खोप दिनका लागि जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले पालिका स्तरिय खोप योजना बनाएको छ ।

    पहिलो चरणमा फागुन २३ गतेदेखि फागुन २९ गतेभित्र ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका लक्षित समुहलाई खोप दिने योजना बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

    यस्तै, दोश्रो चरणमा आगामी चैत २ गतेदेखि चैत ८ गतेभित्र बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका लक्षित समुहलाई खोप दिने तयारी गरिएको छ । 

    ५५ वर्षदेखि ७४ वर्ष, ४० वर्षदेखि ५४ वर्ष उमेर समुहमध्ये क्यान्सर, मुटु तथा मिर्गौला जस्ता दीर्घ रोग भएका व्यक्ती, दीर्घ रोग भएका अन्य व्यक्ती, वैदेसिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोग भएका व्यक्तीलाई दोश्रो प्राथमिकताको रुपमा खोप दिने सरकारको तयारी छ ।

    दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई खोप दिनका लागि स्वास्थ्यकर्मी लगायतलाई आवश्यक तालिम, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकिएको जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ ।

    पहिलो प्राथमिकतामा परेका लक्षित समुहका १ हजार ७४० जनालाई खोप दिइएकामा पुःन दोश्रो प्राथमिकतामा परेका करिब ५० हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ । पहिलो प्राथमिकतामा परेका लक्षित समुहलाई गत माघ १५ गतेदेखि २४ गते र फागुन २ गतेदेखि ११ गतेभित्र दुई चरणमा कोभिशिल्ड खोप दिइएको थियो ।

    स्वास्थ्यकर्मीका अनुसार खोप लगाइएकामध्ये कतिपयलाई  थकान हुने, ज्वरो आउने, टाउको, जिउ दुख्ने लगायतका समस्या देखिने गरेको छ । 
    जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको उपस्थिति थियो । 

    प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - १५:४७:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको