काठमाडाैं : नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो।
सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो ।
सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो । बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष बैठकले निकालेको बैठकपछि बताए।
अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै खनालले भने, ‘फेरि भेटौंला।’