फेमिली केयर अस्पतालले दिक्तेलमा आफ्नो नियमित सेवा शुरु गरेको छ । काठमाडौँस्थित धुमबराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्क नजिक भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।
आगामी दिनमा ५० शैयाको क्षमता हुनेगरि स्थापना गरिएको अस्पतालमा पहिलो चरण अन्तरगत मङ्गलबारदेखि १५ शैयाबाट आफ्नो सेवा शुरु गरिएको सञ्चालक समितिका अध्यक्ष डा. कृष्णकुमार राई ‘केके’ ले बताए।
“अधिकांश रोगको यही र गम्भीर किसिमका बिरामीलाई राजधानी काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्नेगरि दिक्तेल बजारमा फेमिली अस्पताल स्थापना गरिएको छ”,उनले भने, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग प्रतिस्पर्धा गर्न नभइ सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएका छौँ ।”
स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गरिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसुति, बाल रोग, जनरल सेवा लगायत सबै किसिमको उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उनकी श्रीमती सीता केसीले दुई रोपनी नौँ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेज समेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ । कान्तिपुर दैनिकमार्फत विज्ञापन प्रकाशन गरेर एम.डी.जी.पी. एक, अर्थो सर्जन एक, गाईनाकोलोजिस्ट एक, पिडियट्रिसियन एक, डेन्टल सर्जन एक, मेडिकल अफिसर तीन, हेल्थ असिस्टेन तीन, स्टाफ नर्स तीन, फार्मेसिस्ट दुई, रेडियो ग्राफर एक, ल्याब टेक्निसियन एक, ए.एन.एम्. तीन र ल्याब टेक्निसियन एक जना आव्हान गरिएको जनाइएको छ ।
मेडिकल तथा नर्सिङ कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेपी राईले बताए । काठमाडौँमा कार्यरत डाक्डर तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म रु पाँच करोड भन्दा बढी लगानी भइसकेको अस्पताल सञ्चालक समितिले जनाएको छ ।
सुविधा सम्नन्न अस्पताल सञ्चालनका लागि राजधानी काठमाडौँ र खोटाङ जिल्लामा छुट्टाछुट्टै दुई वटा सञ्चालक समिति गठन गरिएको छ । खोटाङमा स्थानीय मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ ।
जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्ने गरि स्थापना गरिएको फेमिली केयर अस्पताल सञ्चालनमा आएपछि जिल्लावासी हर्षित बनेका छन् । जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रिया सहितको उपचार हुनेगरि स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि हर्षित भएका हुन् ।