• ट्रेण्डिङ:

कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

रोदिक खबर

२८, फाल्गुण २०७७
  • 1.8K
    SHARES
  • कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकस्वरमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई देखाएर देउवाले अझै आँट गरेका छैनन् ।

    सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि जोडघटाउ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन जसपाको साथ खोजेका छन् भने माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा एमाले इतरको सरकार बनाउन प्रस्ताव गरेको छ । तर ‘वेटिङ इन प्राइमिनिस्टर’ भनिने विपक्षी दलका नेता देउवाले सरकारको नेतृत्व गर्न रुची देखाएका छैनन् ।

    यही कारण जसपा, ओलीतिर जानसक्ने विश्लेषण गर्दै कांग्रेस शीर्ष नेताहरुले एक स्वरमा सरकारको नेतृत्व लिने पहल थाल्न आग्रह गरेका हुन् । देउवाकै निवास बुढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा नेताहरुले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाल्न आग्रह गरेका हुन् ।

    बुढानीलकण्ठ जानुअघि पौडेल पक्षीय नेताहरुको बैठक महामन्त्री शशांक कोइरालाको निवास, महाराजगञ्जमा बसेको थियो । त्यही छलफलले सरकारको नेतृत्वका लागि पहल गर्न सभापतिलाई आग्रह गर्ने साझा धारणा बनाएको थियो । त्यहाँ जसपाले अघि सारेका शर्तबारे समेत छलफल भएको थियो ।

    नेताहरुका अनुसार संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जसपाको शर्तमा कांग्रेसले यसअघि सहमति जनाएको थियो । २०७४ को चुनावअघि कांग्रेस–माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव संसदमा लगेको पनि थियो । रेमश चौधरीको रिहाइको सन्दर्भमा भने कांग्रेस बोलेको छैन ।

    तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहमत हुनसक्छन् भने कांग्रेस नहुनुपर्ने कारण नभएको नेताहरु बताउँछन् । ‘जसपाले कांग्रेस नमानेका कारण एमालेतिर गयौं भन्ने अवस्था सिर्जना गर्नुहुन्न’ एक नेता भन्छन्, ‘जसपाले उठाएका मुद्दाहरु सम्बोधन गर्ने सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्छ ।’

    केपी शर्मा ओलीले स्वतन्त्र र निष्पक्ष चुनाव नगर्ने भएकाले पनि कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनुपर्ने अधिकांश नेताहरुको धारणा थियो । महामन्त्री निवासमा भएको भेलामा अनुपस्थित कृष्णप्रसाद सिटौला पदाधिकारी बैठकमा उपस्थित थिए । उनले पनि कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि पहल लिनुपर्ने र जसपाका माग सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    नेताहरुले एक स्वरमा सरकारको नेतृत्व लिने पहल लिन आग्रह गरिरहँदा पनि देउवा धेरै उत्साहित नदेखिएको एक नेताले बताए । सरकार गठनबारे जसपामा दुई मत रहेको र एउटै निर्णयमा पुग्नसक्छन् भन्ने नभएको उनले बताएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २२:०२:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको