नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने कार्यमा नेपाली कांग्रेस पछि नहटने बताएका छन्। पचरौता नगरपालिकाको बेल्दारीमा नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आइतवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देशलाई निकास दिनको लागि कांग्रेसले सरकारको नेतृत्व गर्नै पर्ने अवस्था आएमा त्यसबाट पछि नहटने बताए।
कम्युनिष्टहरुको कारणले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धीहरु देशबाट गुम्ने अवस्था आएको र प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नको लािग अन्य पार्टीले सरकारको नेतृत्व गर्न जिम्मेवारी दिएमा त्यसलाई पुरा गरेर कांग्रेसले अगाडि बढ्न तयार रहेको उनले बताए।
प्राकृतिक रुपले तराई, पहाड र हिमाल गरेर नेपालको तीन बिशेषता रहेको र त्यसै गरिनै मधेशी, पहाडी र हिमाली एक अर्काको सहयोगी बनेर रहनु पर्ने उनले बताए। नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेको र महाधिवेशनबाट चुनिएर आउने नयाँ कार्य समितिलाई सबैले स्वीकार गरेर पार्टीलाई बलियो बनाउने काम गर्नु पर्ने देउवले बताए।
कार्यक्रममा केन्द्रीय सदस्य तथा मुस्लिम विभाग प्रमुख फरमुल्लाह मंसुरले कम्युनिस्ट पार्टीको सरकार पूर्ण रुपले असफल भएको र अब कम्युनिष्टहरुलाई नेपाली जनताले पत्याउन नहुने बताए।
खेलकुद विभागका संयोजन तथा काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले दुई तिहारी नजिक बहुमतले बनेको ओली नेतृत्वको सरकारले देशमा भ्रष्टचार, बलत्कार र कुशासन मात्रै बढाएको आरोप लगाए।
सरकारको नेतृत्व गर्ने क्रममा कमिसनबाट प्राप्त गरेको रकमको भागबण्डा कुरा नबिल्दा कम्युनिष्टहरु आफैमा लडेर देशबाट प्राप्त उपल्बधी गुमाउने अवस्थामा समेत पुरयाएको बस्नेतले आरोप लगाए।
कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य उमाकान्त चौधरी, राधेचन्द यादव, बृजलाल यादव, पार्टी सभापति जयचन्द चौरसियाले देशलाई राजनितिक निकास दिनको लागि काँग्रेस २००७ साल देखि नै नेतृत्वदायि भुमिका खेल्दै आएको र अहिले पनि नेतृत्वदायिक भुमिका खेल्नु पर्ने सुझाव दिए।