खोटाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले काँग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन खोटाङले सोमबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले मुलुकमा सिर्जना भएको पछिल्लो राजनीतिक गतिविधिका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सङ्कटमा परेको र दलहरुबीच नयाँ सरकार गठनका लागि छलफल भइरहेपनि काँग्रेस अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका हुन् ।
जनताले “पाँच वर्षसम्म प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताउदै नेता आङ्देम्बेले काँग्रेसले सरकारमा जान हतार गर्दैन तर “देशमा सङ्कट उत्पन्न भएको खण्डमा देशलाई निकाश दिनका लागि आफ्नो पार्टी काँग्रेसले सरकारको नेतृत्व लिनेछ ।”
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को रुपमा छुट्टयाएपछि वर्तमान राजनीतिक सङ्कट गहिरिएको नेता आङ्देम्बेले बताए ।
“सङ्कट टार्न काँग्रेसले भूमिका खेल्नु पर्ने बाध्यता आइपरेको छ”, उनले भने, “यसका लागि आफ्नै नेतृत्वमा सरकार गठन गरेर अगाडि बढिनेछ ।” नेपालको कम्युनिष्ट राजनीतिमा घरि उत्तर र घरि दक्षिणले प्रभाव पर्ने गरेको समेत नेता आङ्देम्बेले बताए ।
“कम्युनिष्ट पार्टीका नेतालाई एउटाले खुलेआम प्रशिक्षण दिन्छ, अर्कोले डिनर गरेर जान्छ”, उनले भने, “विदेश हस्तक्षेपबाट देश सङ्कटमा पर्ने अवस्था आएको खण्डमा काँग्रेसले नेतृत्व लिन्छ ।”
नेता आङ्देम्बेले काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा आफू पदाधिकारी उम्मेदवार बन्ने पनि बताए । कुन पदमा उम्मेदवारी दिने भन्ने नखुलाएका नेता आङ्देम्बेले आगामी भदौमा हुने काँग्रेसका १४ औँ महाधिवेशनमार्फत धेरै युवा पुस्ता पदाधिकारीमा निर्वाचित हुनेसमेत दाबी गरे । महाधिवेशनमार्फत पुराना नेताहरुलाई विस्तारै ससम्मान विस्थापित गरिनेसमेत नेता आङ्देम्बेले बताए ।
“यो महाधिवेशनमा धेरै युवाहरु पदाधिकारीमा निर्वाचित हुने छन्”, उनले भने, “पुराना पुस्ताका नेताहरुलाई महाधिवेशनमार्फत विस्तारै ससम्मान विस्थापित गरेर काँग्रेसमा युवा पुस्ताको नेतृत्व चयन गरिनेछ ।” काँग्रेस मुलुकमा स्थापना भएको प्रजातन्त्रको जननी भएकाले प्रजातन्त्र र संविधानको रक्षामा सदैव अगाडि रहने नेता आङ्देम्बेले बताए ।
नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईको सभापतित्वमा दिक्तेलस्थित होटल सगरमाथामा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस खोटाङका सभापति नरेश कुमार श्रेष्ठ, ओखलढुङ्गा सभापति प्रदिप सुनुवार, पूर्वसभापति एवम् महासमिति सदस्य विष्णुकुमार, नेपाली काँग्रेस नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान निर्देशक तथा ट्रेड युनियनका केन्द्रीय अध्यक्ष खिलनाथ दाहाल, महासमिति सदस्य रविप्रकाश राई, महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई,जिल्ला सचिव ज्ञानेन्द्र जोशी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै खोटाङमा काँग्रेस नेताहरुको आवतजावत बढेको छ । यसअघि केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, कल्याणकुमार गुरुङ, मीना पाण्डे लगायतका नेताहरु खोटाङ आएर कार्यकर्तासँग भेटघाट गरेर फर्किएका छन् ।