काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रमको आयोजना गरेका छन्। बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतको फैसलासँगै पार्टी पूर्ववत् अस्तित्वमा आएपछि ओलीले सबै केन्द्रीय सदस्यलाई बोलाएर चियापान कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
तर सो चियापान कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरु भने सहभागी नहुने भएका छन्। केही दिनअघि ओली समूहले एकपक्षीय बैठक गरेर केन्द्रीय सदस्यहरु थप तथा जिम्मेवारी हेरफेरको निर्णयबाट असन्तुष्ट बनेको खनाल नेपाल समूहले चियापान कार्यक्रममा नजाने जनाएको छ।
राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ । पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।