नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले काँग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस तरुण विभागले शनिवार रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताए । उनले भने, “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ ।
टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।” सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने, “मधेसवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन् । त्यो हेर्नुपर्छ ।” सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सभापति देउवाले स्थानीय तहदेखि सङ्घीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, “जनता मालिक हुन् । नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।” काँग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ ।