खोटाङ । आँखाका बिरामीलाई लक्षित गर्दै खोटाङको दिक्तेल र हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरको तयारी गरिएको छ ।
आँखाका विभिन्न समस्याबाट पीडित भएका बिरामीको उपचारका लागि आँखा उपचार केन्द्र दिक्तेल र रावाबेँसी गाउँपालिकाको केन्द्र कुभिन्डे हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर सञ्चालन गर्ने तयारी गरिएको हो ।
हरमटारमा आगामी चैत २१ गतेदेखि २३ गतेसम्म र आँखा उपचार केन्द्र दिक्तेलमा चैत २६ देखि २८ गतेसम्म निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर सञ्चालनको तयारी गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए ।
पाट्नर्स फर इक्विटीको वित्तीय सहयोग, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले आँखा उपचार शिविरको तयारी थालेको हो ।
दुई स्थानमा सञ्चालन हुने शिबिरमा कम्तीमा दुई सय जनाको आँखाको शल्यक्रिया गर्ने लक्ष्य राखिएको नेपाल नेत्र ज्योती संघका सभापति कसजूले बताए । शिबिरमा आँखाका बिरामीलाई औषधि तथा निःशुल्क औषधि वितरण गरिने जानकारी दिइएको छ ।
यसैबीच, ४२ औं नेत्र ज्योती दिवस तथा नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवशरमा दिक्तेलमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ ।
नेपाल नेत्र ज्योती संघ, नेपाल पत्रकार महासंघ र ज्येष्ठ नागरिक संघको आइतबार बसेको बैठकले सहकार्य गरेर आगामी चैत १३ गते ज्येष्ठ नागरिकको आँखा जाँच शिबिर सञ्चालन गर्ने निर्णय गरेको हो ।
आँखा जाँचकाक्रममा भेटिएका आँखाको शल्यक्रीया गर्नुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई आगामी चैत २६ देखि २८ गतेसम्म आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन हुने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरमा बोलाउने व्यवस्था मिलाइने नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति कसजूले बताए ।