खोटाङ । खोटाङमा स्थापना भएको झण्डै २० वर्षपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भवन बनेको छ । २०५७ सालमा दिक्तेलमा स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रको आयुर्वेद औषधालय भवन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँमा निर्माण गरिएको हो ।
स्थापना कालदेखि भाडाको कोठाबाट सेवा प्रवाह गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको २५ कोठा भएको सुविधा सम्पन्न तीन तले भवन शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना ओखढुंगाको ७ करोड ३६ लाख २१ हजार १६९ रुपैयाँमा निर्माण गरिएको हो ।
प्रतिष्ठा कन्ट्रक्सन प्रालि काठ्माण्डौंले सम्झौता म्याद भन्दा दुई महिना अगावै निर्माण सम्पन्न गरेको आयुर्वेद औषधालय भवन मंगलबार हस्तान्तरण गरिएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखढुंगाका इन्जिनियर बिनोद सिंहले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झालाई लिखित रुपमा भवन हस्तान्तरण गरेका छन् ।
सोही कार्यक्रममा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भीषण राईले भवनको चाँबी आयुर्वेद स्वास्थ्य केन्द्रलाई सुम्पिएका छन् ।
हस्तान्तरण लगत्तै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङले रिवन काटेर आयुर्वेद औषधालयको भवन उद्घाटन गरेका छन् । जिल्लामा हालसम्म बनेका भवनमध्ये आयुर्वेद स्वास्थ्य केन्द्रको भवन सम्भवः सवैभन्दा ठूलो दावी गरिएको छ ।

आगामी २०७८ साल जेठ १६ गतेसम्म म्याद रहेको आयुर्वेद औषधालय भवन निर्माणका लागि निर्माण व्यवसायीले २०७६ साल जेठ १६ गते सम्झौता गरेको थियो ।
आयुर्वेद औषधालयको प्रशासनिक कक्ष, आयुर्वेद सेवा र कर्मचारी क्वाटर सहितको भवन निर्माण गरिएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखढुंगाका इन्जिनियर सिंले बताए । प्रशासनिक कक्षमा प्रशासन, लेखा, कार्यालय प्रमुख लगायतको कार्यकक्ष बनाइएको छ ।
आयुर्वेद कक्षबाट योगा हल, वस्ती पञ्चकर्म, शिरोधरा पुर्वकर्म, नाडीस्वेदन पिण्ड स्वेदन लगायतका सेवा दिइने छ भने क्वाटर हलमा दुई परिवारका लागि क्वाटर बनाइएको छ । भवनको भुईतलामा १२ कोठा, दोश्रो तलामा हल सहित पाँच कोठा र तेश्रो तलामा दुई क्वाटर सहित आठ कोठा छन् ।
कोभिड–१९ को महामारीका बिचमा पनि निर्माण व्यवसायीले सम्झौता म्याद अगावै भवन निर्माणको काम पुरा गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले फायर अलार्म सहितको सुविधा सम्पन्न भवनमा आयुर्वेद अस्पताल सञ्चालनका लागि राजनैतिक हिसावले पहल गर्ने बताए ।
स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि आयुर्वेद औषधालय भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि स्थानीय पदमप्रसाद आचार्य, पर्शु आचार्य र मिना आचार्यले १ रोपनी ५ आना, टंकप्रसाद आचार्यले १ रोपनी, दिर्पनारायण आचार्यले ४ आना, रामप्रसाद आचार्यले ४ आना, बोलराज आचार्यले २ आना जग्गा प्रदान गरेका छन् । यस्तै, स्थानीयले सहयोग उठाएर १ रोपनी जग्गा खरिद गरेर उपलब्ध गराएको वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए ।