काठमाडौं : आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। 'संकेत समयको, क्षयरोग अन्त्यको' भन्ने नारासहित विभिन्न जनचेतनामुलक कार्यक्रम गरिँदैछ।
हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ। क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस् नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो।
यो रोग श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्छ। सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातमा पसिना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता लक्षणहरु देखिन्छन्। क्षयरोग नियमित औषधि सेवन गरे निको हुन्छ।
औषधि नियमित खान छोडे कडा खालको संक्रमण भएकाको ज्यानै जाने सम्भावना हुन्छ। नेपालमा प्रत्येक वर्ष करिब ६८ हजार जना नयाँ क्षयरोगी थपिने गरेका छन्।
हाल देशमा नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगी रहेको अनुमान गरिएको छ। तर‚ सबै क्षयरोगी उपचारको दायरामा आइसकेका छैनन्।