खोटाङ । नेत्र ज्योति दिवस तथा नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवशरमा खोटाङमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरिएको छ ।
४२ औं नेत्र ज्योती दिवस तथा पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवशरमा शुक्रबार आँखा उपचार केन्द्र दिक्तेलमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरिएको हो । शिबिरमा ४२ जना ज्येष्ठ नागरिकको आँखाको जाँच गर्नुका साथै १८ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजूले बताए ।
शिविरमा शल्यक्रिया गर्नुपर्ने १३ जना आँखाका बिरामीको पहिचान गरिएको छ । शल्यक्रिया गर्नुपर्ने गरी पहिचान गरिएका आँखाका बिरामीलाई आगामी चैत २६ देखि २८ गतेसम्म आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन हुने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरमा शल्यक्रियाका लागि बोलाइएको नेपाल नेत्र ज्योति संघका सभापति कसजूले बताए ।
नेपाल नेत्र ज्योती संघ र नेपाल पत्रकार महासंघको आयोजना, ज्येष्ठ नागरिक संघको व्यवस्थापन एबं आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरिएको हो ।
दुई स्थानमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर
आँखाका बिरामीलाई लक्षित गर्दै खोटाङको दिक्तेल र हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको तयारी गरिएको छ ।
आँखाका विभिन्न समस्याबाट पीडित भएका विरामीको उपचारका लागि आँखा उपचार केन्द्र दिक्तेल र रावाबेँसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गर्ने तयारी गरिएको हो ।
हरमटारमा आगामी चैत २१ गतेदेखि २३ गतेसम्म र आँखा उपचार केन्द्र दिक्तेलमा चैत २६ देखि २८ गतेसम्म निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनको तयारी गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति कसजूले बताए ।
पाट्नर्स फर इक्विटीको वित्तीय सहयोग, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले आँखा उपचार शिविरको तयारी थालेको हो ।
दुई स्थानमा सञ्चालन हुने शिबिरमा कम्तीमा दुई सय जनाको आँखाको शल्यक्रिया गर्ने लक्ष्य राखिएको नेपाल नेत्र ज्योति संघका सभापति कसजूले बताए । शिविरमा आँखाका बिरामीलाई औषधि तथा निःशुल्क औषधि वितरण गरिने जानकारी दिइएको छ ।